हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव नेपालको मौसमी प्रणालीमा थपिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
कोसी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ।
कोसी प्रदेशलगायत मुलुकका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
















