काठमाडौँको तीनकुनेमा बसले आज बिहान दुईवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौँ महानगरपालिका- ३२ तिनकुनेस्थित मुनिभैरबमा बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका- ३ घरभई काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
बसको ठक्करबाट भ्यानका चालक काभ्रेकाे मण्डनदेवपुर नगरपालिका- १ घर भई हाल काठमाडौँ महानगरपालिका ३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएकी छन् ।
अन्य घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।