सत्तारुढ नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि अहिलेको परिवर्तित अवस्थामा कन्भिन्स गरेर सँगै लैजाने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार सबै वामपन्थी दलहरू एक हुनेगरी अहिलेको कदम चालिएकोले माधव नेपाल पनि यसमा सहभागी हुने निष्कर्ष बैठकले निकालेको छ। ‘समाजवादी मोर्चा पनि निरन्तर रहन्छ। वामपन्थी पृष्ठभूमि भन्नेबित्तिकै माधवजी र उहाँले नेतृत्व गरेको पार्टीलाई पनि लिएर जाने हो,’ उनले भने, ‘विप्लव र उपेन्द्रजी यसै पनि समाजवादी मोर्चामा हुनुहन्छ। माधवजीलाई पनि कन्भिन्स गरेर सँगै लैजाने निर्णय हाम्रो भएको छ।’
नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ । तर एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन। पार्टीले सचिवालय बैठक बोलाएको छ ।
गए राति बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदा एकीकृत समाजवादीबारे पनि कुराकानी भएको थियो । माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो ।