गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन् । उनले पारदर्शिता र पारदिर्शतामार्फत् सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा राखे ।
मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्रिया कार्यक्रमलाई बोल्दै गृहमन्त्री लेखकले संविधानमा सूचनाको हकलाई मौलिक हकका रुपमा राखेको बताए ।
‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने वित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन,’ उनले भने, ‘कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ती सूचना दिन जरुरी हुँदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन् । वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धहरूसँग जोडिएका हुन्छन् । अब ती सूचनाहरू पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिइ छोड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन ।’
उनले संविधानमा रहेका सूचनाको हकलाई भने राज्यले ग्यारेन्टी गर्ने जिकिर गरे । पारदर्शितामार्फत नै मुलुकमा सुशासन कायम हुने भएकाले राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न आवश्यक रहेको गृहमन्त्री लेखकले उल्लेख गरे ।