सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशत बढ्यो

Image

बैंक तथा वित्तीय संस्थाका सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबा बढेका छन् । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सन् २०२४ मा रिपोर्टिङ भएका शंकास्पद कारोबार संख्या २०२३ को तुलनामा ४९ प्रतिशत बढेको हो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले दिएको जानकारीअनुसार, २०२३ मा ६ हजार २ सय ५५ शंकास्पद कारोबार रिपोर्ट भएका थिए भने २०२४ मा ती संख्या ९ हजार ३ सय ४ पुगेको छ। यसरी बढेको शंकास्पद कारोबारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को कार्यान्वयनमा थप चुनौती थपिएको छ।

इकाइले २०२४ मा प्राप्त १ हजार ८ सय ९४ प्रतिवेदनमध्ये १ हजार ८६ वटा थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायहरूलाई पठाएको छ भने ८ सय ८ प्रतिवेदन भविष्यमा थप जानकारी पाएर पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले इकाइमा पेश गरेको सीमा कारोबार विवरणमा पनि वृद्धि देखिएको छ। २०२३ मा १७ लाख ८३ हजार १ सय ८३ वटा कारोबार विवरण पेश गरिएका थिए भने २०२४ मा यो संख्या १९ लाख ७२ हजार ८ सय ५५ पुगेको छ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि रिपोर्टिङ गर्ने संस्थाहरूको संख्या पनि वृद्धि भएको छ। २०२३ को अन्त्यमा १ हजार ४ सय ९६ रहेका ती संस्थाहरू २०२४ को अन्त्यसम्म १ हजार ९ सय ५ पुगेका छन्।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले यो तथ्यांक सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण रोकथामका लागि आवश्यक कदमहरू अझ कडा बनाउने प्रतिबद्धता जनाएको छ।