यो वर्ष सरदरभन्दा बढी वर्षा, गर्मी र जाडो हुने

Image

यो वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी शाखाले बुधवार जारी गरेको हावापानी अनुमानमा यो प्रक्षेपण गरिएको हो ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ ।

वर्षा राम्रो हुँदा बालिनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने गर्दछ । यस वर्ष पनि मनसुन अवधिमा प्राकृतिक प्रकोप बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न मौसमविदहरूले सुझाव दिएका छन् ।

विभागले विश्व मौसम संगठनको विश्वव्यापी र क्षेत्रीय जलवायु सूचना केन्द्रहरूको हावापानी अनुमान, दक्षिण एसियाली मौसमी जलवायु दृष्टिकोण फोरमको अनुमानका आधारमा यो प्रतिवेदन तयार गरेको हो ।

यसैगरी, नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो र साउदर्न ओसिलेसन (इन्सो)’ र हिन्द महासागरमा विकसित हुने ‘इन्डियन ओसियन डिपोल’ को हालको अवस्था, जलवायु अनुमानहरू, युरोप र एसियामा गत हिउँद र प्रि-मनसुनमा परेको हिउँ र परिवर्तनशीलताका कारकहरूलाई समेत विचार गरिएको शाखाले जनाएको छ ।

गत वर्ष २०८१ को मनसुनका लागि विभागले गरेको अनुमानअनुसार धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको भनिएको थियो, र धेरैजसो स्थानमा बढी वर्षा मापन भएको विभागको भनाइ छ ।