पाल्पा सत्यवती जीप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवारेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी गाउँपालिका–२, पोखराथोककी २५ वर्षीया सीता गौतम र पोखराथोककै दुई वर्षीय संयोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

परियार, विक र गौतमको घटनास्थलमै मृत्यु भएको हो । दुई वर्षीय संयोगको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ११ जनाको रुपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच जनाको, चौराहा अस्पताल बुटवलमा दुई जनाको र भैरहवा मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।