सडक भासिएपछि दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध

Image

शुक्रबार रातिको वर्षाका कारण सडक भत्किएपछि बर्दघाट-दाउन्ने खण्ड पूर्ण रूपमा बन्द भएको छ । बुटवल-नारायणगढ सडकखण्ड विस्तारका कारण प्रभावित बनिरहेको बर्दघाट-दाउन्ने खण्ड शुक्रबार रातिदेखि भने पूर्णरुपमा अवरुद्ध भएको हो ।

सडक भत्किएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ । पश्चिमबाट पूर्व जाने सवारी साधन बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी साधन दुम्किबासतर्फ रोकिएका छन् ।

प्रहरीका अनुसार बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकै सडकको डिल भत्किएको छ । दाउन्ने र बर्दघाट बजारको बीचमा पर्ने खुर्सने खोला क्षेत्रमा करिब ७ मिटर सडकको डिल भत्किएको छ भने बिस्तारको क्रममा गरिएको कालोपत्रे पनि उप्किएको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाका अनुसार पानी परेपछि शुक्रवार राती करिब ११ बजेबाट उक्त सडक पुर्ण रुपमा अवरुद्ध बनेको हो ।

भत्किएर अवरुद्ध बनेको सडक खुलाउन शनिबार बिहानैदेखी प्रयास गरिए पनि सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ । दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । विस्तारको क्रममा दायाँबायाँ भित्ता खनिएको कारण उक्त सडक घाम लाग्दा धुल्लाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ ।

पानी पर्दा हिलाम्मे बनेको सडक चिप्लिएर पटकपटक यातायात बन्द हुने गरेको छ ।

Share