कपिलवस्तुमा ग्यास लिक भइ आगलागी हुँदा दाजु-बहिनीको मृत्यु

Image

कपिलवस्तुमा ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका- ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा जलेर २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको हो । रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगो सल्किँदा दाजु बैनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरन्जन दत्त भट्टले जानकारी दिए ।

‘खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको हो,’ एसपी भट्टले भने, ‘आगोमा जलेर गम्भीर घाइते भएका दाजु बहिनीलाई प्राथमिक उपचारपछि राति नै थप उपचारका लागि भारतको जयनगर लगिएको थियो । बाटोमै उनीहरुको मृत्यु भएको हो ।’

दुवैको शव हाल पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको उनले बताए । आगलागीबाट घरमासमेत सामान्य क्षति पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।