पछिल्लो एक महिनामा देशभर आगलागीका कारण ११ जनाको मृत्यु भएको छ । मृतकमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले वैशाखको तथ्यांक विश्लेषण गर्दा आगलागीबाट ६७ जना घाइते भएको जानकारी दिए। घाइतेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् ।
उनले आगलागीका घटना बढ्दा ठूलो भौतिक र मानवीय क्षति भएको बताए । नागरिक सचेत भए धेरै घटना रोक्न सकिने उनको भनाइ छ । प्रहरीका अनुसार एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । आगलागीमा १८९ पशुचौपाया पनि मरेका छन् ।
आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रहरी तथ्यांकमा छ । आगलागीका कारण ११० परिवार विस्थापित भएका छन्। एक महिनामा ६३४ आगलागीका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कुन प्रदेशमा कति आगलागी?
प्रहरीका अनुसार वैशाखमा सबैभन्दा बढी आगलागी लुम्बिनी प्रदेशमा भएको छ । उक्त प्रदेशमा १४३ आगलागीका घटना भए । कोशी प्रदेशमा १३६, मधेश प्रदेशमा १०४, बागमतीमा ६४, काठमाडौँ उपत्यकामा ३२, गण्डकीमा ५३, कर्णालीमा ४३ र सुदूरपश्चिममा ५९ आगलागीका घटना भएका छन् । विज्ञहरूका अनुसार धेरैजसो आगलागी मानवीय कारणले हुने गरेको छ ।













