कञ्चनपुरको बनबासानजिकै पर्ने भारतीय बजार खटिमास्थित चकरपुरमा कारले दुईवटा स्कुटरलाई ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको छ ।
मृतक सबै एकै परिवारका हुन् । शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, बुहारीहरू २७ वर्षीया नर्मदा र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो ।
उनीहरू पूजाका लागि नेपाल फर्किरहेका थिए। पूजापाठपछि स्कुटरमा मुडेली फर्किरहेका उनीहरूलाई तिव्र गतिमा आएको कारले उनीहरू सवार दुवै स्कुटरलाई ठक्कर दिएको थियो ।
एक स्कुटरमा नमबहादुर र उनकी श्रीमती र अर्कोमा दुई बुहारी सवार रहेकोमा कारले दुवैलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।















