इरानले इजरायलमा जबाफी हमला गरेको छ । शुक्रबार बिहान इजरायलले ठूलो आक्रमण गरेपछि इरानले पनि जबाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायलले इरानमाथि हमला गरेपछि देशव्यापी आपतकाल घोषणा गरी सम्भावित प्रत्याक्रमणको सामनाका लागि तयार भएर बसेको थियो ।
उसले बिहानैदेखि हवाइ प्रतिरक्षा प्रणाली सक्रिय गराएको थियो। इजरायली सेनाले इरानबाट जबाफी हमला भएको बताएको छ। सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले इरानले एक सयवटा ड्रोन इसराइलमाथि प्रहार भएको बताएका छन् । यद्यपि ती सबै हमलाहरू हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय तुल्याएको पनि उनले बताएका छन् ।
त्यसअघि इरानमा २०० वटा लडाकु विमानसहित झन्डै साढे तीन सय हतियार प्रयोग गरी आक्रमण गरिएको पनि प्रवक्ता डेफ्रिनले बताएका छन् । आक्रमणमा इरानी सेनाका प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसन गार्डका प्रमुख तथा दुई जना डाक्टर मारिएका छन् । इस्लामिक रिभोलुसन गार्ड (आइआरजिसी) का प्रमुख जनरल हुसेन सलामीलाई इजरायलले आइआरजिसी हेडक्वार्टरमै आक्रमण गरेर मारेको छ ।
त्यस्तै सर्वोच्च नेता आयातोल्लाह अल खामेनी पछिको शक्तिशाली मानिएका इरानी सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरीको पनि मृत्यु भएको बताइएको छ। इरानी सेनाकै उपप्रमुख जनरल घोलमली रसिद पनि मारिएका छन्।
आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि मारिएको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले जनाएको छ। इरानको आणविक ऊर्जा संगठनका पूर्वप्रमुख फेरेडोन अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष तथा सैद्धान्तिक भौतिकशास्त्री मोहम्मद मेहदी तेहरानची पनि मारिएको बताइएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गरेको छ। ओमान, साउदी अरब लगायतका देशहरूले पनि घटनाको निन्दा गरेका छन्। एसियाली र युरोपेली मुलुकहरूले दुवै देशलाई संयम अपनाउन भनेको छ।
इरानी सर्वोच्च नेता खामेनीले इजरायललाई कडा जबाफ दिने बताएका छन्। इरानमा आक्रमण गरेपछि इजरायलले देशभरि आपतकाल घोषणा गरेको छ।
इजरायलले इरानको सम्भावित जबाफको पूर्वतयारीस्वरूप देशव्यापी आपतकाल घोषणा गरेको हो। विद्यालय बन्ददेखि अस्पतालमा समेत बहिरंगबाहेकका सेवा बन्द गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ भने भेला गर्न पनि रोक लगाइएको छ। साथै सेनालाई पनि तयार रहन भनिएको छ।















