इरानले अमेरिका, फ्रान्स र बेलायतलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उनीहरूले इजरायललाई समर्थन गरेमा इरानले ती देशसँग सम्बन्धित सैन्य अड्डा र जहाजलाई निशाना बनाउनेछ।
बेलायतले अहिलेसम्म इरान-इजरायल द्वन्द्वका विषयमा कुनै टिप्पणी गरेको छैन। तर बेलायतले कुनै पनि सैन्य कारबाहीमा भाग नलिएको बताइएको छ।
बीबीसीका अनुसार इजरायलले पनि बेलायतसँग अहिलेसम्म कुनै सहयोगका लागि अनुरोध गरेको छैन। विगतमा इरानले इजरायलमा ड्रोन प्रहार गर्दा बेलायतले साइप्रसबाट आरएएफ टाइफुन जेट विमानहरू पठाएर तिनलाई खसालेको थियो।
सुरुमा इजरायलले हिजो शुक्रबार बिहानै इरानका विभिन्न स्थानमा हवाई हमला गरेपछि इरानले पनि बदलास्वरूप इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न आह्वान गरेका छन् र अन्यथा इजरायलले अझ गम्भीर आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।















