गर्मी बढेपछि बर्दिबासका विद्यालय असार ३ सम्म बन्द

Image

विगत केही दिनदेखि गर्मी बढेपछि महोत्तरीको बर्दिबास नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको छ।

बर्दिबास नगरपालिकाले एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी नगरक्षेत्र भित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि पठनपाठन बन्द गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मी तथा तातो हावाका कारण मौसम प्रतिकूल भएको हुँदा बिदा दिइएको उल्लेख छ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शैक्षिक सत्र २०८२ को वर्खे बिदाबाट कट्टा हुने गरी असार १ गतेदेखि ३ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गर्न गराउन सूचना जारी गरिएको पराजुलीले बताए।

महोत्तरीमा करिब दुई सातादेखि तापक्रम ४० डिग्रीदेखि ४२ डिग्रीसम्म बढेपछि स–साना बालबालिकाहरु बढी प्रभावित हुन थालेपछि बर्दिबास नगरपालिकाले तीन दिनसम्म सम्पूर्ण विद्यालयको पठन पाठन बन्द गरेको हो।