१९ वर्षपछि अध्यापन पेशामा फर्किए कांग्रेस नेता डा. मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल अध्यापन पेशामा फर्किएका छन् । उनले आफू १९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् ।

पोखरा विश्वविद्यालय अन्तर्गत काठमाडौंको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा रिजालले आइतबारदेखि एमबिएका विद्यार्थीलाई बिजनेस एडमिनिस्ट्रेसन पढाउन थालेका हुन् । उनी यसै विषयका पिएचडी हुन् ।

एपेक्सका संस्थापक तथा अध्यक्ष समेत रहेका रिजालले आफूले पढाउने कोर्सको डिजाइन आफै गरेका छन् । त्यसमा उनले बिजनेस एन्ड इकोनोमिक्स अन्तर्गत नवउदारवाद, अर्थशास्त्रको वित्तीयकरण, आर्टिफिसियल इन्टेलिजेन्स र अर्थतन्त्रमा यसको प्रभाव, राजनीतिमा लोकप्रियतावाद र सार्वजनिक नीतिनिर्माणले त्यसले पार्ने असर, अर्थतन्त्रमा उदाइरहेका महिलाहरु, जलवायु परिवर्तन र आर्थिक पाटो लगायत विषय पढाउनेछन् ।

रिजाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा टिकटसमेत नपाएपछि उनले सम्हालिरहेको तत्कालिन रक्षा मन्त्रालयबाट राजीनामा दिएका थिए ।

उनलाई सभापति शेरबहादुर देउवाले केही साता अघिमात्र केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।