काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डमा ईभी माइक्रो भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।
स्कुलले हालै किनेको भ्यान दुर्घटना हुँदा सोही स्कुलकी छात्रा सर्लाही स्थायी घर भई कुलेश्वर बस्ने ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।
सोनाक्षीको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त कालिमाटीका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी दिए ।
घाइते हुनेमा सर्लाहीको लालबन्दी स्थायी घर भएकी आठ वर्षीया रेश्मा मोक्तान, रामेछापकी ९ वर्षीया नेसिया थापा, कीर्तिपुरकी नौ वर्षीया निशिका डंगोल, मकवानपुरकी ११ वर्षीया सिमरन खडका, गुल्मीकी नौ वर्षीया प्रेमिसा घर्तीमगर रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक तनहुँ स्थायी घर भएका ४६ वर्षिय सुरज पोख्रेल तथा गाडी चालक धनुषाका ६० वर्षीय हर्कबहादुर कार्की पनि घाइते भएको डीएसपी थापाले जानकारी दिए । सोमबार १२स्५० को समयमा स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिल्लरमा ठोक्किएर भ्यान दुर्घटनामा परेको उनले बताए ।
भ्यानमा चालक मात्र सवार थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















