मुहानै सुकेपछि दमकलबाट पानी वितरण

यस पटकको सुख्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ ।

उदयपुरगढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा मुहान सुकेर गाउँमा हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण सुरू भएको छ ।

स्थानीय राधाकुमारी मगरका अनुसार स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्यांकी रित्तै भएपछि गाउँमा पानीको हाहाकार भएको हो ।

एक हप्तादेखि स्थानीयवासी काकाकुल नै बनेपछि शनिबारदेखि दमकलको सहायताले पानी वितरण हुन थालेको उनले बताइन् ।

उदयपुरगढी–७ का वडाध्यक्ष भुवन मगरलेका अनुसार वडाका करिब ५० घरपरिवार पानीविहीन भएका छन् ।

‘पानी नभएपछि संघीय सांसद अमर रायमाझी र प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको सहयोगमा दमकलमार्फत वैद्यनाथ खोलाबाट पानी ल्याई वितरण गरिएको छ,’ उनले भने ।

आगलागी हुँदा प्रयोग गर्नुपर्ने दमकल अहिले खडेरीका कारण गाउँलेलाई पानी उपलब्ध गराउन प्रयोग गर्नुपरेको उनले बताए ।

प्रदेश सभा सदस्य बुर्जा मगरले आफूहरूले खर्च जुटाउने सर्तमा दमकल प्रयोग गरेर वैद्यानाथ खोलाको पानी दिनमा पाँचरछ पटकसम्म बोकेर वितरण गरेको बताए ।

यस क्षेत्रका जनतालाई पानी उपलब्ध गराउन अब अन्य विकल्प पनि सोच्न बाध्य हुनुपरेको सो क्षेत्रका सांसद रायमाझीले बताए ।