छानविन समितिले प्रतिवेदन बुझाउनासाथ अल्मुताइरीले लेखे- आई एम आउट, लेट पाेलिटिक्स वर्क

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फुटबल विवाद समाधानका लागि गठित छानविन समितिको प्रतिवेदनमा असन्तुष्ट रहेको जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बनाएको छानविन समितिले बुधबार प्रतिवेदन राखेपका सदस्यसचिव रमेश सिलवाललाई बुझाएसँगै अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन् ।

अल्मुताइरीले लेखेका छन्, ‘आइ एम आउट… लेट पोलिटिक्स वर्क ।’ (म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिऊँ) ।

प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरण तथा बानी व्यहोरामा सुधार गर्नुसहित ११ बुँदे सुझाव दिइएको छ । समितिकी प्रवक्ता सुवर्णकेशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् ।

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल सङ्घ एसियाली फुटबल महासङ्घको नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने बताइएको छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार