मोरङमा बालिका हत्यामा आराेपमा ३८ वर्षीय चौधरी पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो। ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु ९मामाको छोरा० विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्। ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन्। २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेको डीएसपी दाहालले बताए। बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको पाइएको छ।