अनामनगरमा महानगरले डोजर चलाउँदा स्थानीयबीच विवाद

काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ । वडा नम्बर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयहरूले विरोध जनाएका छन् । सरकारी जग्गालाई अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाउँ बनाएको स्थानमा महानगरले जबरजस्ती हस्तक्षेप गरेको उनीहरूको भनाइ छ ।

उनीहरुले सोही स्थान नजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् भने वडा नम्बर २९ ले भने स्थानीयहरूले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ । सोही अनुरूप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले सार्वजनिक जग्गा केही व्यक्तिहरूले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको बताएका छन् । वडा कार्यालय निर्माण गर्ने विषयमा यसअघि काँग्रेस क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह सहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षबिहीन भएको थियो ।