यो वर्षको मनसुनको हल्का प्रभाव भारतको बिहार क्षेत्रमा देखिँदा नेपालमा बदली र हल्का वर्षा हुन थालेको छ । बुधबार केरलाबाट नेपालतिर सोझिएको मनसुनी न्यूनचापीय प्रणाली सोमबारसम्म भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश र भुटानसम्म आइपुगेको छ । तर नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी प्रणाली नेपाल नजिक आउँदै गर्दा पूर्वबाट मनसुन भित्रिने वातावरण वायुमण्डलमा बन्न थालेको छ । आइतबार रातिदेखि नै पश्चिमी वायु मध्य नेपाल र पूर्वी नेपालबाट विस्थापित हुने क्रममा अग्रसर भएको छ । पश्चिमी वायु विस्थापित भएर पूर्वी वायु स्थापित हुनासाथ नेपालमा मनसुनी वर्षा सुरु हुने गर्छ । नेपालमा मनसुन भित्रिने घोषित मिति जुन १३ तारिख हो । बङ्गालको खाडीबाट जलवाष्पयुक्त न्यूनचापीय क्षेत्रको विकास हुँदै आउन ढिला भएपछि केरलामा एक सातापछि मात्र आइपुगेको थियो ।
विगतको मौसमी पद्धति हेर्दा केरलाबाट करिब १२ दिनको यात्रा तय गरेर नेपाल आउने गरेको थियो । तर केरलाबाट यो वर्ष एक साता आसपासमै नेपाल नजिक आइपुग्ने अनुमान गरिएको छ । मनसुनको प्रारम्भिक असरले कोशी, बागमती र गण्डकी प्रदेशमा बदलीसँगै हल्का वर्षा हुन थालेको मौसमविद् सजिना शाक्यले बताइन्। उनका अनुसार मध्य र पूर्वका विभिन्न स्थानमा मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने अनुमान गरिएको छ । बुधबार पनि सोही प्रदेशमा बदली र वर्षा निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।