सर्लाहीमा गाडीले ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।
नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत कविलासी नगरपालिका–१० सलेमपुरमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका ५ मोहनपुर घर भई सलेमपुरस्थित माइती घर आएकी २१ वर्षीया सबनम खातुनको मृत्यु भएको हो ।
दुर्घटनामा उनकी आमा ६२ वर्षीया अबेदा खातुन गम्भीर घाइते भएकी छन् । उनको उपचार नेसनल मेडिकल कलेज (वीरगन्ज) मा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार साँझ सडकमा हिँडिरहेका आमाछोरीलाई चारपांग्रे गाडीले ठक्कर दिएको हो । तर दुर्घटना हुनासाथ फरार भएकाले गाडीको नम्बर पहिचान हुन सकेन ।
दुर्घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मृतकका आफन्त र स्थानीयले सोमबार साँझ नवलपुर–मलंगवा सडक पाँच घण्टासम्म बन्द गराएका थिए ।
मृतक युवतीको शव सडकमै राखेर दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै सलेमपुरमा चक्काजाम गरिएको हो ।













