अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन् ।
उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन् ।
“हामीले इरानका तीन आणविकस्थल – फोर्डो, नटान्ज र इस्फहानमा हाम्रो धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन् । मुख्य स्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन् । हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई । विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन । अब शान्तिको समय हो ! यो विषयमा तपाईंको ध्यानका निम्ति धन्यवाद,” ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन् ।
इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यस क्रममा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ ।
उता इजरायलमा भने २४ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन् ।
केही दिनअघि मात्रै अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानले आणविक कार्यक्रम नरोके यो देशमा आफ्नो देश पनि प्रत्यक्ष संलग्न हुने योजना अनुमोदन गरेका थिए ।