ब्राजिलमा ‘हट एयर बेलुन’ दुर्घटना हुँदा आठजनाको मृत्यु

Image

ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ यात्रु बोकेको ‘हट एयर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताएका छन् ।

गभर्नर जोर्गिन्हो मेलोले भने, “बेलुन दुर्घटनामा आठजनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।”

ब्राजिलको टेलिभिजनमा प्रसारित भिडियोमा समुद्रतटीय सहर प्रैया ग्रान्डेमाथि बेलुनमा आगो लागेपछि जमिनमा खसिरहेको क्षण देखाइएको छ । बेलुन आकाशमा रहेका समय मौसम राम्रो थियो ।

करिब दुई दर्जन यात्रु बोकेको बेलुन दर्जनौँ मिटरमाथि आकाशबाट जमिनमा बजारिन पुगेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

एट्लान्टिक तटमा रहेको प्रैया ग्रान्डे ब्राजिलको हट एयर बेलुनको सहायतामा आकाशमा साहसिक यात्रा गर्नका निम्ति एक लोकप्रिय गन्तव्य हो ।

केही दिनमै देशमा भएको यो दोस्रो घातक बेलुन दुर्घटना हो । एक साताअघि दक्षिणपूर्वी साओ पाउलो राज्यमा बेलुन सवारीका क्रममा एक महिलाको मृत्यु भएको थियो ।