रामेछापमा बन्दै गरेको पक्की पुल भाँचिएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो ।
यो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको थियो । तर आइतबार बिहान सोही भाँचिएको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको मन्थली नगरपालिका–७ मुगिटारका सुरज श्रेष्ठले बताए ।
यो पुल २०८२ साल भदौ अन्तिमसम्म म्याद भए पनि आगामी असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुल भत्किएको हो । कुल २ सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडामा निर्माण भइरहेको थियो ।
२०७८/७९ मा सडक विभागअन्तर्गतको पुल महाशाखासँग निर्माण कम्पनीले २०८२ भदौ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी २२ करोड ५५ लाख ४० हजारमा निर्माण सम्झौता गरेको थियो । पुल निर्माणको ६० प्रतिशत भुक्तानी कम्पनीले लिइसकेको अवस्थामा एकै स्थानमा दोस्रो पटक पुल भाँचिएपछि स्थानीयले गुणस्तरप्रति प्रश्न उठाएका छन् ।
यो पुल निर्माण पश्चात् काठमाडौँ रामेछापका लागि सहज यात्रा हुने आशा गरिएको थियो । यो पुल बनेपछि मन्थली खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौली सहित खाँडादेवी, दोरम्बा शैलुङ गाउँपालिकाको विभिन्न वडा पुग्न सहज हुने विश्वास लिइएको थियो ।