‘टेक एन्ड पे’को व्यवस्था फिर्ता, यस्तो छ अर्थमन्त्रीको प्रस्ताव

Image

अर्थमन्त्री विष्णु पौडेलले बजेटमा राखिएको ‘टेक एन्ड पे’को व्यवस्था फिर्ता लिएको बताएका छन् ।

उनले मंगलबार संसद्‍मा सम्बोधन गर्दै वित्तीय जोखिम मूल्यांकनको आधारमा विद्युत् खरिदबिक्री गर्ने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले बुँदा नम्बर २२७ को आशय उत्पादित विद्युत् खेर नजाओस्, उच्च प्रतिफल दिने आयोजना अगाडि बढाऊँ, हिउँदको समयमा समेत विद्युत् आपूर्ति सहज बनाऔँ भनेर ल्याएको बताए ।

उनको प्रस्ताव अनुसार उक्त बुँदामा अब वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत तथा निर्यात हुने यकिन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिने छ भन्ने बेहोरा उल्लेख गरिएको छ ।

यसअघि यो बुँदामा ‘जलविद्युत् आयोजना सम्पन्न हुने समय तालिकासँग सङ्गति मिल्ने गरी सबस्टेसन र प्रसारण लाइन निर्माण गरिने छ । विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत् खरिद सम्झौता गर्ने नीति लिइने छ । रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत् खरिद सम्झौता गरिनेछ,’ भन्ने बेहोरो उल्लेख थियो ।