धरानमा श्रमदानद्वारा ९८ औं दिनमा खानेपानी झर्‍यो

खानेपानीको चरम अभाव झेल्दै आएको धरान उपमहानगरपालिकाका बासिन्दाले थोरै भए पनि राहत पाउने भएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले अगाडि सारेको श्रमदान अभियानको सफलतासँगै धरानमा ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याइएको छ ।

खानेपानीको चरम अभाव भोगिरहेको अवस्थामा प्रमुख साम्पाङले प्रारम्भ गरेको श्रमदान अभियानको ९८ औँ दिनमा कोकाहा खोलाबाट पानी ल्याएर धरान–२० स्थित पकुवा खोलामा खसालिएको छ । त्यसरी पानी झर्दा प्रमुख साम्पाङ भावुक भएका थिए । उनले गत फागुन २३ देखि यो अभियान थालेका थिए ।

मङ्गलबार बिहान कोकाहाको पानी पकुवा खोलामा ‘वास आउट’ गर्न खसालिएको अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बूले जानकारी दिए । धरानसम्म पानी ल्याउनका लागि करिब ४ करोड रुपैयाँ खर्च भएको छ । हजारौंले श्रमदान गरेका छन् ।

कोकाहा खोलाको मुहान क्षेत्रबाट प्रमुख साम्पाङको नेतृत्वको श्रमदान अभियानको टोलीले पाइपलाइन बिछ्याएर पानी ल्याएको हो । कोकाहाबाट धरानसम्म पाइपलाइन ल्याउने क्रममा छिमेकी नगरपालिका बराहक्षेत्रसँग समन्वय गरेर त्यस नगर क्षेत्रको भूभागसमेत हुँदै करिब ४२ किलोमिटर पाइपलाइन बिछ्याइएको छ ।

कोकाहाबाट ल्याएर पानी खसाइएको पकुवा खोलासम्मको कठिन पहाडी क्षेत्र कटेर धरानको मानव बस्तीका लागि खानेपानी ल्याइएको धरान खानेपानी व्यवस्थापन बोर्डका प्राविधिक सुशन थापाले बताए । पकुवा खोलामा ल्याइएको पानी ‘वास आउट’ गरेर त्यहाँदेखि करिब सात किलोमिटर दूरीमा रहेको सुम्निमा र स्वास्तिका ट्याङ्कीमा ल्याइने योजना रहेको उनको भनाइ छ। यसका लागि श्रमदान अभियान अन्तर्गत नै पकुवादेखि सुम्निमा र स्वास्तिका ट्याङ्कीसम्म पाइपलाइन विस्तारको कामसमेत भइसकेको छ।

कोकाहाको पानी पकुवा खोलासम्म ल्याउने अभियानको अन्तिम चरणमा निरन्तर फिल्डमै खटिएका प्रमुख साम्पाङले ४२ किलोमिटरसम्म पहाडी भिर, पाखा क्षेत्रमा पाइप बोकेर पाइपलाइन विस्तार गरी पानी ल्याउने अभियानमा साथ सहयोग दिने सबैप्रति आभार व्यक्त गरे ।

धरान खानेपानी व्यवस्थापन बोर्डमा हाल २८ हजारभन्दा बढी उपभोक्ता भएको धरान नगर क्षेत्रमा दैनिक ३ करोड लिटर पानीको माग छ । तर सुक्खायाममा सुर्दु–खर्दु जलाधारको सतहको पानी र चारकोसे जंगलको भूमिगत पानी दैनिक २ करोड लिटर पनि उत्पादन र आपूर्ति हुन नसक्दा खानेपानीको हाहाकार हुने गरेको छ ।