प्रमुख र उपप्रमुखबीचको झगडाका कारण सुनसरीको धरान उपमहानगरपालिकाको बजेट ल्याउन सकेन । संविधानत: स्थानीय तहहरुले बजेट ल्याउने दिन आज अन्तिम हो । तर आन्तरिक झगडाका कारण धरानले बजेट ल्याउन नसकेको हो ।
उपप्रमुख अइन्द्रविक्रम बेघाले उपमहानगरको बजेट अनिश्चित रहेको बताए । प्रमुख हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेका कारण बजेटको काम अघि नबढेको उनले बताए । ‘बजेट आज आउनु पथ्र्याे तर आएन, उनले भने,‘ नगरप्रमखले प्रकृया अघि नबढाएका कारण नगरसभा भएन ।’
उपप्रमुखका अनुसार राजस्व परामर्श समितिले उपमहानगरको लागि करिब १ अर्ब ६० करोड रुपैयाँको बजेट सीमा प्रस्ताव गरिसकेको छ। तर प्रमुखको अध्यक्षतामा गठन हुने बजेट सीमा निर्धारण समितिको बैठक नै नबसेपछि न त वडागत बजेट सिलिङ तोकिएको छ, न त विषयगत सिलिङ। यस्तो अवस्थामा बजेट तर्जुमा समितिले काम अघि बढाउन नसकेको उनले बताए।
धरान उपमहानगरपालिकामा पछिल्लो समय श्रमदान कार्यक्रमलाई लिएर प्रमुख हर्क साम्पाङ र उपप्रमुख बेघाबीच चर्को विवाद चुलिएको थियो। सोही विवादकै असर बजेट निर्माण प्रक्रियामा परेको हो। संविधान अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। तर धरान उपमहानगर भने राजनीतिक विवादका कारण समयमै बजेट प्रस्तुत गर्न असफल भएको छ।