इजरायलसँग रिसाए ट्रम्प

Image

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलसँग ‘खुसी नभएको’ बताएका छन्। हेगमा नेटो शिखर सम्मेलनमा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इजरायलप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘मलाई यो पटक्कै मन परेन, इजरायलले (युद्धविराम) सम्झौता भएलगत्तै आक्रमण गर्‍यो। आक्रमण गर्न आवश्यक थिएन ।’

ट्रम्पले थपे, ‘दुई देशहरू छन्, जो यति लामो समयदेखि र यति उग्र रूपमा लडिरहेका छन् कि उनीहरूलाई थाहा पनि छैन कि उनीहरू के गरिरहेका छन् ।’ ट्रम्पले इजरायललाई इरानमा आक्रमण रोक्न आग्रह पनि गरेका छन् ।

उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘इजरायल, बम नखसाल । यदि तिमीले त्यसो गर्‍यौ भने यो घोर उल्लंघन हुनेछ। आफ्ना पाइलटहरूलाई अहिले नै घर फिर्ता बोलाऊ ।’

यसअघि ट्रम्पले इरान र इजरायलबीच मंगलबार बिहानदेखि युद्धविराम लागु भएको घोषणा गरेका थिए । इजरायली सेनाले इरानले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ भने इरानले यो कुरा अस्वीकार गरेको छ ।