जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो । गत भदौ २ गते मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए ।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
वि.सं.२०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।
उनको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि हो ।
सुनसरीको धरान घर भएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका खड्गी छिन् ।