नक्कली शरणार्थी प्रकरणबारे प्रधानमन्त्री : बरु सरकार छाड्न परोस्, उन्मुक्ति दिन्नौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन् ।

बुधबार बिहान मा‌ओवादी निकट प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीसँग उनले यस्तो बताएका हुन् । अहिले सत्ता टिकाउनकै लगि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने शंका उत्पन्न भएकोमा बरु सरकार छाड्ने तर भ्रष्टाचारीलाई उन्मुक्ति नदिने उनले बताएका हुन् ।

‘भ्रष्टाचार काण्डमा बरु सरकार छाडेर जनतामा जान उचित हुन्छ, बरु सरकार छाड्न परे परोस्, गलत सम्झौता गर्न हुँदैन भन्ने पक्षमा छौँ,’ प्रधानमन्त्रीले भने । भ्रष्टाचारविरुद्धको अभियान जारी रहने पनि उनले बताए ।

उनले भष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने पनि स्पष्ट पारेका छन् । ‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- ‘सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन,’ उनले भने ।

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति(सम्झौता ऐतिहासिक भएको प्रचण्डले बताएका छन् ।

एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’