सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन् ।
गएराति लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले ठक्कर दिँदा साइकलमा सवार युवकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा सर्लाहीकै कबिलासी नगरपालिका-८ अगर्वा निवासी २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन् । आगजनीबाट टिपरको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको छ ।
पछि दमकलको सहयोगमा आगो निभाएको प्रहरीले जनाएको छ । क्रेनको सहायताले तानेर उक्त टिपरलाई जिल्ला ट्राफिक कार्यालय नवलपुरमा लगिएको छ ।