वान एक्स बेटका ‘मास्टर एजेन्ट’ सहित ५ जना पक्राउ, नेपालमै सीए राखेर ७४ करोड बढीको कारोबार

प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौँको कारोबार गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

वान एक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड भन्दा बढीको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिए । त्यस्तै पक्राउ परेका अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौँको कारोबार गरेको देखिएको केसीले बताएका छन् ।

पक्राउ परेकामध्ये कैलालीको लम्कीचुहा नगरपालिका– १० का २९ वर्षीय दिनेश खड्काले अनलाइन बेटिङमा ६५ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खड्का दम्पतीले विभिन्न अनलाइन गेम खेलाएर गरेर पैसा ट्रान्सफर गर्ने गरेका थिए ।  काभ्रेको पाँचखाल नगरपालिका– ४ की २८ वर्षीया  धिताललाई दिनेशकी श्रीमती हुन् । प्रहरीका अनुसार खड्का दम्पतीले विभिन्न अनलाइन गेम खेलाएर गरेर पैसा ट्रान्सफर गर्ने गरेका थिए । खड्का दम्पती अनलाइनमार्फत सट्टेबाजी गराउने ‘मास्टर एजेन्ट’ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पक्राउ परेका भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का दिनेश चन्द ५४ लाख रुपैयाँ कारोबार गरेका छन् । यस्तै २४ वर्षीय आशिष लामिछानेले २ करोड ९८ लाख ९६ हजार कारोबार गरेको देखिएको छ ।

पक्राउ परेका लामिछानेसँग ३५ लाख नगद पनि बरामद गरिएको केसीले बताए ।  लामिछाने  भारतमा चार्टर्ड एकाउन्टेन्ट पढेर आएका हुन् । उनले वान एक्स वेटका नेपाली एजेन्टहरूको हिसाबकिताब राख्दै आएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।    उनीहरूले रेड्डी एपमा किट्टु ग्रुप सञ्चालन गरेर कारोबार समेत गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा लामिछानेले विदेशमा रहेकाहरूको ‘फेसबूक अकाउन्ट ह्यान्डलिङ’ गरेर कारोबार गर्दै आएको खुलेको छ । उनले नेपाली एजेन्टहरूसँग पैसा संकलन गर्ने र जम्मा भएको रकम तथा हिसाबकिताब ‘अमेरिकन गेम्लिङ एजेन्ट’का परिवारलाई पठाउने गरेको खुलेको एसएसपी केसीले बताए ।

कार्यालयका अनुसार पक्राउ परेका पाँच जनाले कुल ७४ करोड १३ लाख ५० हजार बराबरको कारोबार गरेका छन्। पक्राउ परेका व्यक्तिहरूबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोबार गर्ने प्रमाणहरू फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।