पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथि पुनरावलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी थिए । छलफलमा अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई निकै महत्त्वपूर्ण विषय भन्दै राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले पनि खेल र चलचित्र क्षेत्रलाई महत्त्व दिएर अगाडि बढाउने प्रयास गर्दै आएको बताए । ‘म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्त्व दिँदै आएको छु’, प्रचण्डको भनाइ छ ।
चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनको रूपमा पनि लिनुपर्ने प्रचण्डको जोड छ । ‘कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्। चलचित्र कालजयी पनि हुन्छन्’, प्रचण्डले सामाजिक घटनाक्रम चलचित्रमा सचित्र देखिनु आवश्यक रहेको उल्लेख गरे ।
चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजदर्शी बनाउन सबै पक्षसँग छलफल गरेर आवश्यक संशोधन गर्न सहयोग गर्ने प्रचण्डले सरोकारवालाई विश्वास दिलाए ।
त्यसक्रममा शिक्षा विधेयकबारे समेत चर्चा गर्दै अध्यक्ष प्रचण्डले संविधानको भावना अनुसार सुधार र समावेशीताको पक्षमा आफू रहेको भन्दै देश र जनतालाई अगाडि लैजानुपर्छ भन्नेमा आफूहरू रहेको बताए ।