तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले उनैका श्रीमान्लाई पक्राउ गरेको छ ।
प्रहरीले पत्नी रङ्गिला भुजेल हत्या आरोपमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो ।
प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी आरोपित सार्वजनिक गरेको हो ।
मृतक व्यास–१२ लामीडाँडा माइती भएकी मनोजकै श्रीमती रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । पक्राउ परेका विष्टउपर जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद थप गरिएको छ ।
विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रंगिलाले दुईवटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान – श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए ।
उपरीक्षक विष्टले भने, “जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।”
उनीहरूबीच सामाजिक सञ्जालमार्फत चिनजान भई गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक विष्टले भने, “शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्नेछ ।”
मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए ।
मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले उनलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टले बताए ।