बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण सार्वजनिक गरिने

आज (बिहीबार) बागमती प्रदेशसभाको बैठक बस्दै छ । बैठकमा प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न कार्यक्रम छ ।

शुक्रबार अर्थात् असार १ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुपूर्व प्रदेश सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो ।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने उनले बताए ।