भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगनेस्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ । बुधबार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधबार राती १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर लगाएर काम गर्दै गर्दा एक्कासि खोला बढेर राईलाई बगाएको प्रहरीको भनाई छ । एक्स्काभेटर चालक सम्राट् केसी तत्काल हाम फालेर बाँच्न सफल भएपनि राई हाम फाल्न नसकेपछि खोलामा बगेको चालक केसीले बताए ।
घटना लगतै प्रहरी चौकी पान्धारे र कोटबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी राईलाई आज बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।