काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर पर्यटनमन्त्री सुदन किराँतीप्रति व्यङ्ग्य गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किरातीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताएका हुन् ।
‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ती चोरियो,’ बैठकमा उनले भने ।
त्यस्तै उनले पर्यटनमन्त्रीले विचौलिया पोसेको बताएका छन् । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्य बनाएको उनले दाबी गरेका छन् । गोठाटार जग्गाको सत्य तथ्य रिपोर्ट ल्याउनेलाई हटाउने प्रयास भइरहेको आलेको जिकिर छ ।
उनले भने, ‘नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड महालेखाको प्रतिवेदनमा देखिएको छ । ऋण ५० अर्ब नाघेको छ । तर, तीन महिनामा ३ अर्ब कमायो भनेर पर्यटनमन्त्रीले झूटो बोले । संसदमा स्पष्ट जानकारी गराइयोस् ।’