शरणार्थी प्रकरणमा सरकारी वकिलले भने : मुद्दा चलाउँदा हामी जेल जानुपर्छ भने तयार छौँ

सरकारी वकिलले नक्कली शरणार्थी प्रकरण अदालतमा ल्याएकोमा जेल जान परे तयार रहेको बताएका छन् । अहिले चलिरहेको जवाफी बहसका क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले बहस गर्दै यो प्रकरणमा संविधानअनुसार मुद्दा चलाइएको भन्दै मुद्दा चलाउँदा जेल जानुपरे तयार रहेको बताएका हुन् । गत बुधबारदेखि यही बिहीबारसम्म १८ जना प्रतिवादीहरुका वकिलले प्रतिरक्षा बहस गरिसकेपछि सरकारी वकिलहरुले जवाफ दिइरहेका छन् ।

प्रतिरक्षा बहसका क्रममा बालकृष्ण खाँणसहितका निर्दोषहरुलाई फसाउने गरी मुद्दा अघि बढाएको भन्दै अधिवक्ताहरुले सरकरी वकिलहरुलाई कारबाही गर्नुपर्ने कुरा उठाएका थिए । उक्त कुराको जवाफमा सहन्यायाधिवक्ता घिमिरेले यस्तो बताएका हुन् ।

‘सरकारी वकिलहरुले गलत अभियोग लगाएका छन्, यिनीहरुलाई कारबही हुनुपर्छ भन्नु भएछ’, उनले प्रतिवादीहरुतर्फ लक्षित गर्दै न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भने, ‘हामीले गलत अभियोग लगाएको होइन। संविधानले लगाएको हो, उहाँहरुलाई संविधानअनुसार मुद्दा चलाउँदा हामी जेल जानुपर्छ भने तयार छौँ श्रीमान्।’

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गरिरहेका छन् ।

नक्कली  शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । थुनछेक बहस सकिएपछि उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्नेबारे इजलासले निर्णय गर्ने छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो । १२ जना अझै फरार छन् ।