नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथ देवल लगिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि शुक्रबार १६ जना प्रतिवादीलाई केन्द्रीय कारागार पठाउन आदेश भएसँगै उनीहरुलाई जेल चलान गरिएको हो । उनीहरू यसअघि प्रहरी परिसर टेकु‚ प्रहरी वृत्त दरबारमार्ग‚ सिंहदरबार‚ कालिमाटी र सोह्रखुट्टेसहितका प्रहरी हिरासत कक्षमा थिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले अदालतको आदेशसँगै पुर्पक्षका लागि थुनामा पठाउने सूचीका सबैलाई केन्द्रीय कारागार चलान गर्न आवश्यक कागजात मिलाउने क्रम सकिएपछि उनीहरूलाई कारागार चलान गरिएको बताए ।
यस्तै उक्त प्रकरणमा लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । होटल व्यवसायी टंक गुरुङ १० लाख र ललितपुरकी लक्ष्मी महर्जन भने ५ लाख धरौटीमा रिहा हुने भएका छन्।
नेपाली नागरिकलाई नक्कली शरणार्थी परिचयपत्र दिलाउने प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप रायमाझी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ तथा दलालहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, कुमार गुरुङ, रामशरण केसी, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, गोविन्द चौधरी र बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए । उनीहरूलाई कारागार चलान गरिएको हो ।
त्यस्तै केशव तुलाधार, अशोक पोख्रेल, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, आशिष बुढाथोकी , रमा थापा, प्रतीक थापा र नीरज राई अहिले फरार छन् । प्रतीक पूर्वगृहमन्त्री बादलका छोरा हुन भने नीरज इन्द्रजित राईका छोरा हुन् । यस प्रकरणमा केशव दुलाल र सानु भण्डारीको नाम प्रमुख बिचौलियका रुपमा चर्चित छ।
भूटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेका थिए ।
उक्त गिरोहले नाम प्रतिवेदनमा समावेश गरेर जनही १० देखि ५० लाख रुपैयाँसम्म उठाएका थिए। रकम उठाइसकेपछि गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।













