काठमाडौँ — नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने भएको छ । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ । उनी यसअघि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनले परराष्ट्र र भौतिक योजना मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।
अन्य कुनै शीर्ष नेताले सरकारमा पार्टीको नेतृत्व गर्ने तयारी भए पनि अर्थ र गृहसहित महत्त्वपूर्ण मन्त्रालय नपाएपछि एमाले महासेठको नेतृत्वमा सहभागी हुन लागेको हो ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र र वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, रास्वपालगायतलाई समेटेर सोमवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । त्यसको २ दिनपछि मुख्य मन्त्रालय सम्हाल्ने मन्त्रीको टुंगो लागेको हो ।