बर्खायामसँगै तीव्र रूपमा फैलन सक्ने डेंगु, मलेरिया लगायतका रोगहरूको जोखिमलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका–३ को शुभलक्ष्मी आदर्श टोलमा मच्छरदानी (झुल) वितरण गरिएको छ।
एमाले नेतृ टिका बस्नेत घिमिरेले बिहीबार उक्त टोलका विपन्न तथा जोखिममा रहेका परिवारहरूलाई झुल वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै घिमिरेले सरसफाइ, स्वास्थ्य सुरक्षा र जनचेतनाको सन्देश दिन यस्ता साना प्रयासहरूले पनि दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गर्नुभयो। “स्वास्थ्य सचेतना र सस्तो उपायबाटै संक्रमणको जोखिम घटाउन सकिन्छ। यस्तो साझा प्रयासले कमजोर समुदायलाई राहत दिन सक्छ,” उहाँले भन्नुभयो।

यसअघि पनि घिमिरेले बिर्तामोड नगरपालिकाका विभिन्न स्थानमा पुगेर झुल वितरण गर्नुभएको थियो । स्वास्थ्य तथा सरसफाइका निम्ति नागरिक तहबाट हुने यस्ता प्रयासले सामाजिक उत्तरदायित्वको नमूना प्रस्तुत गर्ने स्थानीयहरूले बताएका छन्।
झुल वितरणपछि स्थानीय बासिन्दाहरू खुसी भएका छन्। मच्छरजन्य रोगको सिजनमा यस्ता सहयोगले प्रत्यक्ष राहत मिलेको उनीहरूको भनाइ छ।














