प्रतिनिधिसभाको बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेट्न निकै गाह्रो भएको गुनासो गरेका छन्।
साहले रौतहटका जयप्रकाश साह नामक युवा विगत एक वर्षदेखि युक्रेनमा फसेको र अझै उद्धार नभएको विषयमा मन्त्री राणालाई भेट्न खोज्दा भेट नै हुन नसकेको भन्दै संसदमा आक्रोश पोखेका हुन्। “देवता भेट्न सजिलो छ, तर परराष्ट्रमन्त्री भेट्न गाह्रो छ,” साहले भने।
उनले जयप्रकाश साहजस्तै सयौं नेपाली युक्रेनमा फसेको तर सरकारले उद्धारमा कुनै चासो नदिएको आरोप लगाउँदै पीडित परिवार न्यायका लागि भौतारिनुपरेको स्मरण गराए। साहका अनुसार, पीडित परिवारले एजेन्टमार्फत युक्रेन पठाइएको भन्दै प्रहरीमा उजुरी दिए पनि न्याय नपाएको छ।
मधेशमा खानेपानीको हाहाकारका बीच सरकारले राहत नदिएको भन्दै साहले थप आक्रोश पोखे। उनले प्रधानमन्त्री र मन्त्रीहरू विदेशी मिनरल वाटर पिउँदै जनतालाई सामान्य प्राकृतिक पानीसमेत नदिएको आरोप लगाउँदै सरकारको शैलीप्रति कडा आपत्ति जनाए।













