साइबेरियामा ४९ जना सवार रूसी जहाज सम्पर्कविहीन

Image

साइबेरियामा आधारित एन्गारा एयरलाइन्सको यात्रुवाहक जहाज ४९ जना सवारसहित सम्पर्कविहीन भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट अचानक सम्पर्क टुटेको हो।

ब्लागोभेसचेन्स्कबाट चीनसँग सीमा जोडिएको अमुर क्षेत्रतर्फ गइरहेको जहाजमा ४३ जना यात्रु सवार थिए, जसमा पाँच जना बालबालिका पनि थिए। बाँकी ६ जना चालक दलका सदस्य रहेको क्षेत्रीय गभर्नर भासिली ओर्लोभले जानकारी दिएका छन्।

ओर्लोभका अनुसार जहाजको अवस्थाबारे जानकारी पत्ता लगाउन खोजी तथा उद्धारका लागि सबै सम्बन्धित निकाय परिचालन गरिएको छ। उनले टेलिग्राममार्फत जनाउँदै भने, “जहाजको अवस्थाबारे पत्ता लगाउन सक्दो छिटो प्रयास भइरहेको छ।”

यसबारे थप विवरण आउन बाँकी छ।