खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अस्पतालबाट ‘डिस्चार्ज’ नहुँदै आफूखुसी माइतीघर मण्डल पुगेका छन्। सरकारसँग भएका पटक–पटकका वार्ता निष्कर्षविहीन बनेपछि उनी पुनः माइतीघर फर्किएका हुन्।
मेयर भट्टराईको संघर्ष समिति सदस्य तथा वडा नं १२ का वडाध्यक्ष दानबहादुर राईका अनुसार मेयर अस्पतालमै उपचाररत रहँदा पनि सरकारसँग तीन दिनसम्म वार्ता भए पनि सहमति हुन नसकेको थियो। “मेयरसाब अस्पतालमा हुँदा पनि पटक–पटक वार्ता भयो, तर निष्कर्ष आएन। त्यसपछि उहाँ फेरि माइतीघर आउनुभयो,” राईले बताए।
गत साउन ११ गतेदेखि तीनदिने सत्याग्रह प्रारम्भ गरेका मेयर भट्टराईले साउन १४ गतेदेखि माइतीघरमा अनिश्चितकालीन आमरण अनशन थालेका थिए। स्वास्थ्य अवस्था कमजोर भएपछि प्रहरीको सहयोगमा उनलाई साउन १६ गते राति करिब १० बजे वीर अस्पताल भर्ना गरिएको थियो।
तर सरकारसँग निरन्तर छलफल हुँदै गए पनि सम्झौता हुन नसकेपछि मेयर भट्टराई अस्पतालबाटै निस्किएर माइतीघर फर्किएको संघर्ष समिति बताउँछ। उनीसहितको टोलीले वार्ता भने जारी राखेको छ। आजै कुनै सहमति हुने सम्भावना रहेको वडाध्यक्ष राईको भनाइ छ।
मेयर भट्टराईले राखेका सातबुँदे मागहरूमा जैविक विविधता संरक्षण, रैथाने संस्कृति प्रवर्द्धन, जलवायु परिवर्तन न्यूनीकरण, बाँसको उपयोग विस्तार, गिट्टी–बालुवा क्रसर उद्योगको नियमन, जंगली जनावरको नियन्त्रण तथा समन्वय लगायत विषय छन्। ती मागलाई सरकारले वेवास्ता गरेको भन्दै उनी अनशनमा बसेका हुन्।
०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भट्टराईले आफू नेतृत्व गरेको नगरपालिकाका स्रोत, वन–जंगल र सम्पदाको संरक्षण र उचित उपयोगका लागि संघीय सरकारको ध्यानाकर्षण गराउन अनशन सुरु गरेका हुन्।















