मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेकाे छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएकाे छैन ।
टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन् । ‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ । उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्, ‘ शक्तिले भनेका छन् ,’तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन ।’
श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उनले प्रस्ट्याए । ‘मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्, ‘ उनले भने । उनले यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको बताए ।
केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ । यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि स्पोट गरिएको छ । तर , यिनले सम्बन्धको बारेमा केही बोलेका छैनन् ।