नाडा अटो शो -२०२५ भदौ ३ देखि , प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

Image

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो शो २०२५ आउँदो भदौ ३ देखि ८ सम्म आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ ।

प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ । १७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । नाडा स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको नाडा अध्यक्ष करण चौधरीले जानकारी दिए ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पार्ट्स्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहने आयोजकले बताएको छ ।

एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको शोमा १ सय २५ भन्दा बढी प्रदर्शक रहनेछन् । करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको प्रदर्शनीस्थलमा १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र समेटिनेछ । प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स अत्याधुनिक चारपांग्रे रोबोट र डिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन् । भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शन गरिनेछ ।

‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी तथा अटो पार्ट्स देखाइनेछ भने अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी सहकार्य प्रवर्द्धन गरिनेछ । ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तर्क्रिया कार्यक्रम पनि हुनेछ ।