भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फोन गरेका छन्। मोदीले सोमबार सामाजिक सञ्जालमार्फत जेलेन्स्कीले आफूसँग फोनमा कुरा गरेको जानकारी दिएका हुन्।
भारतका प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न र हालैका घटनाक्रमबारे उहाँको विचार सुन्न पाउँदा म खुसी छु। मैले उहाँलाई द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको छु।’
उनले अगाडि लेखेका छन्, ‘भारत यस सम्बन्धमा हरेक सम्भव योगदान दिन र युक्रेनसँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन प्रतिबद्ध छ।’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन यही अगस्ट १५ मा अलास्कामा भेटवार्ता गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री मोदी र जेलेन्स्कीबीच फोनवार्ता हुनु महत्त्वपूर्ण ठानिएको छ।
यसबीच जेलेन्स्कीले कुनै पनि हालतमा आफ्नो जमिन रुसलाई सुम्पन नसकिने अडान पनि व्यक्त गरिसकेका छन्।
उता युक्रेनका युरोपेली सहयोगीहरूले पनि युक्रेनलाई सामेल नगरी गरिने शान्ति वार्ताको अर्थ नहुने चेतावनी दिइरहेका छन्।
















