रामहरि खतिवडाले दिए समिति सभापतिबाट राजीनामा

Image

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै खतिवडाले संघीय निजामती सेवा विधेयकमा आफ्नो हस्ताक्षर भएको हुँदा नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिएको घोषणा गरे। “विधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो,” खतिवडाले संसदमा भने।

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थालाई निष्प्रभावी हुने खालको भाषा घुसाइएको आरोप उनीमाथि लागेको थियो। यस प्रावधानमा चलखेल भएको भन्दै तीव्र आलोचना भएपछि प्रतिनिधिसभाले छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको थियो।

विशेष समितिले २७ दिनको अध्ययनपछि साउन २० गते प्रतिवेदन पेश गर्दै खतिवडासहितलाई जिम्मेवार ठहर गरेको थियो। राजीनामा घोषणा गर्नुअघि खतिवडाले सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतलाई भेटेका थिए।

यससँगै समितिको सभापति पद खाली भएको छ भने नयाँ सभापति चयनका लागि प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ।