राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैनिक एक हजारभन्दा बढीले आफ्नो पार्टीको सदस्यता लिइरहेको दाबी गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनीष झाले अहिले पार्टी प्रवेश गर्नेहरू बढिरहेको बताएका हुन्। ‘अहिले हामीकहाँ दैनिकरूपमा हजार जनाभन्दा बढीले सदस्यता लिइरहनुभएको छ’ उनले भने।
रास्वपाले आज नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनमा २०७० सालदेखि अहिलेसम्म उपाध्यक्ष रहेका ललित बहादुर श्रेष्ठ पार्टी प्रवेश गरेको जनाएको छ। त्यस्तै नेपाली सेनाका पूर्व कर्नेल डा प्रदुम्न पौडेल, सशस्त्र प्रहरीका पूर्वडीआईजी दुर्गा भट्टराई, सशस्त्र प्रहरीकै पूर्वएसएसपी विश्वेश्वर थापा र अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्वगभर्नर शोभा जोशी पार्टी प्रवेश गरेको झाले जानकारी दिए।
















